Loading...
Share Market News

असारे विकासले बढायाे बैंकिङ्ग प्रणालीमा तरलता, आगामी आर्थिक वर्षमा पनि तरलता अभाव हुन नदिन केन्द्रिय बैंकले ध्यान दिनुपर्ने

सरकारले दैनिक रुपमा खर्च बढाउन थालेपछि बैंकिङ्ग प्रणालीमा तरलता सहज हुन थालेको छ। केन्द्रिय बैंकको अनुसार अहिले बैंकिङ प्रणालीमा ३७ अर्ब रुपैयाँ तरलता छ।

केहि समय अघि बैंकहरुमा लगानीयोग्य रकम अर्थात तरलता कमी हुँदै गएको थियो। बैंकहरुले निषेधाज्ञाकै अवधिमा पनि कर्जा लगानी गरिरहेको भए पनि निक्षेप संकलन खासै बढ्न नसक्दा बैंकहरुमा लगानीयोग्य रकम अभाव हुन पुगेको थियो। कतिपय बैंकहरुको सिसिडि रेशियो केन्द्रिय बैंकले तोकेको सिमा नजिक पुग्दा बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका थिए।

तर अहिले सरकारले दैनिक रुपमा १० अर्ब रुपैयाँभन्दा धेरै खर्च गर्दै आएको छ। आर्थिक वर्ष सकिनै लाग्दा सरकारले असारे विकास खर्च बढाएको छ। जसका कारण बैंकहरुमा विस्तारै तरलता सहज हुँदै गएको केन्द्रिय बैंकले जनाएको छ।

आइतबारसम्ममा बैंकिङ्ग प्रणालीमा ३७ अर्ब रुपैयाँ तरलता रहेको केन्द्रिय बैंकका प्रबक्ता देव कुमार ढकालले बताए। तरलता केहि सहज भएसँगै अन्तरबैंक ब्याजदर समेत घटेको छ। ५ प्रतिशत नजिक पुगेको अन्तरबैंक व्याजदर घटेर ३.७१ प्रतिशतमा झरेको ढकालकाे भनाइ छ ।

महालेखा नियन्त्रक कार्यलयका अनुसार आइतबार मात्रै १० अर्ब रुपैयाँभन्दा धेरै बजेट खर्च भएको छ। वर्षभरी खर्च हुन नसकेर सरकारको खातामा रहेको पैसा आर्थिक वर्षको अन्त्यमा आएर धमाधम खर्च हुँदा उक्त पैसा बैंकिङ्ग प्रणलीमा आउन थालेको हो।

लगानीयोग्य रकम बढेसँगै बैंकहरूको सिसिडि रेशियो पनि घट्न थालेको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ। बैंकहरुको औसत सिसिडि रेशियो ७९ प्रतिशतसम्म पुगेकोमा सोमबार यस्तो रेशियो घटेर ७७.९९ प्रतिशतमा झरेको छ। यसले पनि पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम बढ्दै गएको देखाउछ।

गत आर्थिक वर्षको अन्त्यमा लकडाउनका कारण बैंकहरुले कर्जा लगानी गर्न नसक्नु तर बैंकहरुमा निक्षेप भने बढ्दै जाँदा तरलता उच्च रुपले बढेको थियो। आर्थिक वर्षको अन्त्यतिर बैंकिङ्ग प्रणालीमा १ खर्ब रुपैयाँभन्दा माथिको तरलता थियो। तर यस वर्ष लकडाउनमै पनि बैंकहरुको कर्जा लगानी बढीरहेको कारण तरलता गत वर्षको तुलनामा कम छ।

गत वर्ष बैंकहरुमा लगानीयोग्य रकम उच्च रहेकै कारण कर्जाको ब्याजदर समेत घटेर एकल अंकमा झरेको छ। अहिले सबैजसो बैंकको आधार दर ८ प्रतिशतकै हाराहारीमा रहेको छ।

गत वर्ष केन्द्रिय बैंकले मौद्रिक नीतिमार्फत लिएका कतिपय नीतिहरुले बैंकहरुमा तरलता सहज बनाएको थियो। गत वर्षको मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले सिसिडि रेशियो र सिआरआमा छुट दिएको थियो। आगामी आर्थिक वर्षमा पनि तरलता अभाव हुन नदिन केन्द्रिय बैंकले ध्यान दिनुपर्ने व्यवसायीहरु बताउछन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *