Loading...
Share Market News

के सेयर बजार छिटोछिटो करेक्सनबाट थप सबल बन्न खोज्दैछ ?

काठमाडौं : सेयर बजारको करेक्सन आइतबार पनि जारी रहेको छ । गत बिहीबार पनि बजारमा केही करेक्सन देखिएको थियो । प्रोफिट बुकिङका कारण सूचक सामान्य दबाबमा परेको हो । यस दिन नेप्से सूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा अडिएको छ । ४ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दुई कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । पछिल्लो समय बजार ट्रेडिङ प्रवृत्ति अलि बढी हावी भएको छ ।

दीर्घकालीन लगानी भन्दा तत्काल खरिदबिक्री गर्ने प्रवृत्ति हावी भएकाले छिटोछिटो नाफा बुक हुने गरेको छ । जसका कारण नेप्से सूचकमा पनि चाँडोचाँडो उतारचढावहरु आइरहेको छ । बढेको बजारबाट ट्रेडरहरुले नाफा बुक गरिसकेको र फेरि सस्तो मूल्यमा खरिद गर्ने प्रयास हुँदा नेप्से केही प्रभावित हुनु सामान्य विषय हो । यसलाई विश्लेषकहरुले सामान्य र बजारको नियमित प्रक्रिया भनेका छन् । बेला बेला करेक्सन हुँदै अघि बढेको बजार थप सबल हुने उनीहरुको भनाई छ ।

छोटो अवधिमै करिब ७ सय अंकको ठूलो करेक्सन आयो । त्यसपछि मध्यमस्तरका र साना करक्सनहरु आइसकेको छ । करिब ३ महिनाकै अवधिमै बजारमा ठूला–साना करेक्सनहरु आइसकेकाले पनि अबको यात्रा निकै सकारात्मक र सुन्दर हुन सक्ने आँकलन गर्नेहरु पनि बजारमा पर्याप्त भेटिएका छन् । तथापि, सर्वसाधारण लगानीकर्ताले आफ्नै अध्ययन र स्वविवेक प्रयोग गरी लगानी रणनीति तय गर्नुपर्ने हुन्छ ।

तर अब बजार विस्तारै इन्भेष्टमेन्ट मोडेलमा अर्थात अलि दिगो लगानी र सोही अनुसार क्रमशः वृद्धितर्फ बजार अघि बढ्ने कपितयको भनाई छ । बजारले राम्रो बुल रनको तयारी गरिरहेको केहीको दाबी पनि रहेको छ । तर आम लगानीकर्ताहरु भने यतिबेला मौद्रिक नीति समीक्षाको पर्खाईमा रहेका छन् ।

मौद्रिक नीति समीक्षामा तरलता सहज वा सीडी रेसियोको गणना विधिमा केही सहजीकरण भएमा त्यसको प्रत्यक्ष र सकारात्मक प्रभाव सेयर बजारमा पनि पर्नेछ । यसर्थ, सर्वसाधारण लगानीकर्ताको ध्यान अहिले यतातिर पनि गएको छ ।

अब विस्तारै तरलता सहज हुँदै जाने अपेक्षा छ । सरकारको खर्च अब बढ्दै जानेछ । यसले पनि तरलता सहज बनाउन सहयोग पुग्ने छ । स्थानी निकायमा पनि पैसा जानेक्रम सुरु हुनेछ । यतिबेला बजार करेक्सन भइरहेकाले डिस्काउन्टमा सेयर खरिद गर्ने मौका मिलिरहेको छ । सर्वसाधारण लगानीकर्ताले सबल वित्तीय सूचक भएका, लाभांश क्षमता मजबुत भएकै कम्पनीमा लगानी गर्नुपर्छ । यसो हुँदा अन्ततः बजारमा हुने जोखिमलाई न्यूनीकरण गर्न सजिलो हुन सक्छ ।

कम्पनीको लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, भावी योजना पनि हेर्नुपर्छ । लगानी गर्दा जोखिम बहन क्षमतामा पनि ध्यान दिन बिर्सिन नहुने विश्लेषकहरु बताउँछन् । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिका लागि किन्ने भन्ने यकिन हुन जरुरी छ । लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ध्यान दिन पनि भुल्नु हुँदैन । लाभांशको सिजन भएकाले त्यसतर्फ पनि ध्यान दिंदै आफ्ना रणनीतिहरु बताउनुपर्ने विश्लेषकहरुको सुझाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *