Loading...
Share Market News

तरलता अभावले घाटामा व्यवसाय चलाउँदै लघुवित्त कम्पनी, “लामो समय यस्तो अवस्था रहे सबै डामाडोल हुन्छ”

तरलता अभावले गर्दा लघुवित्त कम्पनीहरु समस्यामा देखिएका छन्। तरलता अभावको कारण स्रोत नपाउने र पाए पनि अत्याधिक महँगो पर्ने भएपछि लघुवित्त कम्पनीहरु समस्यामा परेका हुन्।

अहिले लघुवित्त कम्पनीहरुले बैंकहरुसँग लिने सापटीको ब्याजदर १३ प्रतिशतसम्म पुगेको छ। यसले गर्दा अहिले कतिपय लघुवित्त कम्पनीहरुले समेत कर्जा लगानी गर्न सकेका छैनन्।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै निक्षेपको तुलनामा उच्च कर्जा बृद्धि हुँदा बैंकहरुमा लगानीयोग्य रकम अभाव चुलिँदै आएको छ भने बैंकहरुको ब्याजदर पनि बढ्दो क्रममा छ। यसले गर्दा लघुवित्त कम्पनीहरूले सापटी पाएका छैनन्। फलस्वरूप अहिले लघुवित्त कम्पनीहरुले पनि माग भएजति कर्जा लगानी गर्न सकेका छैनन्।

लघुवित्त कम्पनीहरुले वाणिज्य बैंकबाट सापटी लिएर ग्रामीण क्षेत्रमा साना साना कर्जा लगानी गर्ने गर्छन्। तोकिएका केही लघुवित्तबाहेक अन्य लघुवित्तले सर्वसाधारणबाट निक्षेप उठाउँदैनन्। लघुवित्तहरुले ग्रामिण क्षेत्रमा गएर सानासाना कर्जा लगानी गर्ने हुँदा उनीहरुको लागत अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा धेरै हुन्छ।

अहिलेकाे अवस्थामा मुख्य समस्या स्राेतकै रहेकाे विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्साल बताउँछन्। “मेरो कष्ट ५ प्रतिशत छ। हामीले वाणिज्य बैंकबाट १३ मा सापटी लिएर साढे १४ मा लगानी गर्नुपर्ने बाध्यता छ।” लघुवित्त बैंकर्स स‌ंघका पूर्व अध्यक्ष लम्सालले मेरो लगानीसँग भने “केहि समय यस्तै अवस्था रह्यो भने सबै डामाडोल हुन्छ।”

तरलता अभावपछि अहिले लघुवित्त कम्पनीहरुमा रिसोर्सेस कम भएरै अफ्ठ्याराे परेकाे उनी बताउँछन्। वाणिज्य बैंकबाट सापटी लिएर कर्जा लगानी गर्नुपर्ने कम्पनीहरुलाई वाणिज्य बैंकमा नै पैसा अभाव भएपछि समस्या परेको हो।

अहिले लघुवित्त कम्पनीहरूमा पनि थप कर्जा लगानी गर्न नसक्ने अवस्था रहेकाे लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा बताउँछन्। “ग्रामीण क्षेत्रमा अर्थत्रन्त्र चलायमान गराउने लघुवित्त नै हुन्। तर, त्यो चेन चाँही ब्रेक हुँदैछ,” लघुवित्त बैंकर्स संघका अध्यक्ष शर्माले भने, “कर्जा चुक्ता गरेपछि कर्जा नपाउने अवस्था लघुवित्तमा पनि छ।”

केन्द्रीय बैंकले लघुवित्तहरुले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने व्यवस्था गरेको छ। लघुवित्त कम्पनीहरुले लिने सापटीको ब्याजदर बढ्दै जाने तर कर्जामा भने १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने भएपछि उनीहरु तनावमा देखिएका छन्।

सापटी लिएर गरिएको लगानीमा अहिले कष्ट नै नउठ्ने अवस्था लघुवित्त कम्पनीहरुको छ। लघुवित्त कम्पनीहरु अहिले घाटामा नै व्यवसाय गर्नुपर्ने अवस्था रहेको बताउँछन्। १५ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्न बढी १० प्रतिशत ब्याजदरमा स्रोत प्राप्त हुनुपर्नेमा अहिले लघुवित्त कम्पनीहरु आफैले १३ प्रतिशतसम्म तिरेर सापटी लिने गरेको बताउँछन्। यसले गर्दा अहिले लघुवित्त कम्पनीहरु निकै नै समस्यामा चलिरहेको उनीहरुको भनाई छ।

लघुवित्त कम्पनीहरुले पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले जस्तै बेस रेटको आधारमा कर्जा लगानी गर्न माग गरिरहेका छन्। तर, राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुले कर्जामा अधिकतम १५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *