Loading...
Share Market News

नेप्सेमा फर्कियो चमक : कारोबार रकम पनि बढ्यो

काठमाडौं : सेयर बजार बिहीबार सकारात्मक बनेको छ । ३ दिन लगातार घटेको बजार साताको अन्तिम दिन बिहीबार भने सकारात्मक बनेको हो । सूचकका साथमा खरिदबिक्री रकममा समेत तेजी देखिएको छ । यस दिन नेप्से सूचक १७.५७ अंकले बढेर ३०९४.०१ विन्दुमा आइपुगेको छ । १३ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर, फाइनान्स र विकास बैंक समूहमा बढी तेजी आएको छ । करिब दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

यसअघि बजार बढेर ३२ सय विन्दुभन्दा माथि पुगेपछि करेक्सन आएको थियो । नेप्से ऐतिहासिक विन्दुमा पुगेपछि बिक्रेता हावी भए । कारोबारीले नाफा बुक गरे । अनि, यही बेला केन्द्रीय मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन पनि जारी गर्यो । जसमा सेयर धितो कर्जाको सीमा १२ करोडमा झार्न अधिकतम १ वर्पसम्मको समय दिइएको छ । यस प्रावधानमा ठूला लगानीकर्ता असन्तुष्ट रहेका छन् ।

यी कारणहरु एकसाथ आउँदा बजारमा ३ दिनसम्म लगातार गिरावट आएको थियो । तर बजार सधैं एउटै रेखामा हिँड्दैन । करेक्सनपछि फेरि विस्तारै सम्हालिंदै बढ्ने पनि गर्छ । सोही अनुसार बिहीबार बजार सम्हालिएको हो । नाफा बुक, त्यसपछिको कही पेनिक सेल समाप्तिपछि बजारले फेरि अर्को उचाई तय गर्ने विश्लेषणहरु हुँदैछ ।

अहिलेसम्म लार्ज क्यापका कम्पनीहरु खासै चलेका छैनन् । स्मल र मिड क्यापका कम्पनीहरुमा तेजी आइरहेको छ । विशेषगरी पछिल्ला दिनहरुमा हाइड्रोपावर, फाइनान्स र विकास बैंकहरुको भाउ बढेको छ । अब विस्तारै बिमा, लघुवित्त हुँदै वाणिज्य बैंकहरुमा तेजी आउने अनुभवी लगानीकर्ताहरुको विश्लेषण रहेको छ ।

सेक्टर परिवर्तन हुँदै बजार बढिरहेको देखिन्छ । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आइसकेको छ । कोरोनाको विकराल अवस्थामा पनि कम्पनीहरुले नाफा वृद्धि गरेका छन् । वित्तीय विवरणपछि अब लाभांश घोषणा र साधारण सभाको समय आउँदैछ । यसर्थ, यो सेयर बजारको प्रमुख सिजन पनि हो । बजार समग्रमा बुल रनमा रहेको छ । बुलिस प्रवृत्तिको बजारले केही करेक्सनहरुका बाबजुत उच्चतम विन्दुहरु तय गर्दै जान्छ । यो बजारको स्वभाविक प्रक्रिया हो ।

यसर्थ, आम लगानीकर्ताले योजनाबद्ध हिसाबले अघि बढ्न सक्नुपर्छ । लगानी गरिएका कम्पनीको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, पीई अनुपात लगायतका प्रमुख पक्षहरुमा ध्यान दिन आवश्यक छ । सकेसम्म अलिलामो समयसम्म होल्ड गर्ने हिसाबले लगानी गर्न सक्नुपर्छ । यसो गर्न सकिएमा दिनहुँ हुने उतारचढावबाट प्रताडित हुनुपर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *