Loading...
Share Market News

नेप्से घटे पनि कारोबारमा तेजी, किन घट्यो बजार ?

काठमाडौं : सेयर बजारमा आइतबार गिरावट आएको छ । फाइनान्स बाहेक सबै समूहका सूचक तल झरेका छन् । नेप्से सूचक ४९.१८ अंकले घटेर ३०४४.८७ विन्दुमा आइपुगेको छ । १५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकम औसतमा आकर्षक हो । २२७ कम्पनीको २ करोड ४८ लाख ८८ हजार कित्ताभन्दा बढीको सेयर कारोबार भएको छ ।

विश्लेषकहरुका अनुसार बजार स्वभाविक करेक्सनमा गएको हो । नेप्से ३२ सय विन्दुभन्दा माथि गएपछि कारोबारीले नाफा बुक गरेका हुन् । भाउ उच्च्तम विन्दुमा पुगेका बेला नाफा बुक गर्नेहरु सक्रिय हुन्छन् । यसबाट बजार केही करेक्सन हुनु स्वभाविक नै हो । अहिलेको समयमा बजार घट्नुमा १२ करोडको सीमा पनि लगानीकर्ताहरुले कारण मानेका छन् ।

हुन त एक जना व्यक्तिलाई १२ करोडको सीमा दिनु त्यति नराम्रो पनि होइन । तर केही ठूला लगानीकर्ताका लागि भने यो सीमा सानो हुन सक्छ । तर यसले साना लगानीकर्ताहरुके हित प्रवबद्र्धन गर्ने केन्द्रीय बैंकको बुझाई छ । यस व्यवस्थाबाट अब बैंक तथा वित्तीय संस्थाहरुले साना तथा मझौला ग्राहकहरु खोज्ने थाल्ने र उनीहरुलाई बोलाई–बोलाई कर्जा दिन्छन् भन्ने उसको बुझाई हो ।

त्यतिमात्र होइन, यसले बजारमा साना तथा मझौला लगानीकर्ताको संख्या वृद्धि गर्न सहयोग पुग्ने उनीहरुको विश्वास छ । यतिबेला बजार घट्नुपर्ने अरु खास र प्रमुख कारण देखिएको छैन । बजार स्वभाविक करेक्सनमा गएको हो । बजारमा बेलाबेला यस्तो प्रवृत्तिहरु देखिइरहन्छ । घटबढ बजारको नियम हो ।

यसर्थ, लगानीकर्ताले योजनाबद्ध हिसाबले अघि बढ्न सक्नुपर्छ ।  किन्न सक्ने क्षमता, होल्ड गर्न सक्ने अवधि अनि कम्पनीको समग्र अवस्थाका बारेमा अध्ययन गर्नुपर्छ । सामान्यतयः बुल बजारमा ढिलोचाँडो सबै समूह र कम्पनीहरुको भाउ बढिरहेको हुन्छ । अझ कम पुँजी भएका कम्पनीहरुको भाउ द्रुतरुपमा बढ्ने गर्छ । तर ठूला पुँजी भएका अनि लाभांश क्षमता भएका कम्पनीहरु तुलनात्मकरुमा ढिलो बढ्ने हुन सक्छ । यसर्थ, आम लगानीकर्ताले आफैंले निर्णय गर्न सक्नुपर्छ ।

आफू कस्तो प्रकारको लगानीकर्ता बन्ने, कति समयसम्म होल्ड गर्ने अनि लाभांश क्षमता बढी भएकामा जाने वा कारोबार प्रकृतिको सेयरमा बस्ने भन्नेमा निर्णय गर्न सक्नुपर्छ । बजार समग्रमा बुल रनमै छ । यसर्थ, बजारको औसत रेखाहरु माथितिरै हुने विश्लेषकहरुको भनाई रहेको छ । बजारको चक्रीय नियम, सस्तो ब्याजदर अनि नयाँ लगानीकर्ताको आगमनले नेप्से वृद्धिको थप सम्भावनाहरु देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *